Tuesday, January 28, 2014

नीला आँखा

निला आँखा (कथा )
-        निर्मला खड्का
सानै देखि उपन्यास ,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।


नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरुमा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन्  भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला आँखा भएका मान्छे भेट्नु नै कहाँ काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश पुगियो । अब भने निला ,काला,खैरा अनि हरिया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचयमित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन

  यसरी नै मध्य पश्चिममा मेरो भेट भएको थियो जोसेफसंग । आर्थिकोपार्जनका  खातिर  भौतारिएरा अनेक हण्डर खादै ठुलो सपना बोकेका हामी चार दक्षिणपूर्वीय युवतीहरु मध्यपश्चिममा ठोक्किन पुगी जोसेफको अपार्टमेन्ट सामुन्नेको अपार्टमेन्टमा बस्ने गर्थ्यौ |आमुन्ने सामुन्ने अपार्टमेन्ट हुनाले देखा देख भै नै रहन्थ्यो । पहिला मैले प्रती त्यति ध्यान दिएकी थिईन तर कयौं पटकको देखादेख पछि आक्कल  झुक्कल  हाइ-हेल्लो हुन थाल्यो । एकदिन हाम्रो बिदाको दिन थ्यो । कोठामा कती बसी राख्नु भनेर हामी चारै जना साथीहरु बाहिर निस्कियौ । झिसमिस साँझले शहरको बातावरण निकै मनमोहक बनाएको थियो । हामीले पैदल हिड्दै त्यहि नजिकको एउटा गार्डेनलाइ आफ्नो गन्तब्य बनाउने निश्चय गर्यौ । गर्मी  दिनको साँझ भएर होला पार्क भरि भराउ थियो । हामी पार्कमा पुगेर हरियो दुबो माथि थचक्क बसेर बिबिध कुराहरु गर्दै मनोरंजीत हुन शुरु गर्यौं
"हाइ गर्ल्स" अपेक्षा नै नगरिएको आवाजले हामीलाई झस्क्यायो |
"हेई"। हामी पनि के कम जवाफ फर्काइ हाल्यौ । सामुन्ने जोसेफ थियो ।
"म यहाँ तिमीहरु संग बस्न सक्छु"? उसले बिस्तारै सोध्यो ।
"पक्कै पनि" हामीले स्विकृती दियौ । ऊ हामीसंग बसेर गफमा गफ मिलाउन थाल्यो । तर ऊ अली लजालु किसिमको कम बोल्ने युवक जस्तो मानें मैले पहिलो भेटको कुराकानीमा किनकी ऊ हामीसंग बस्न भनेर त आयो तर अपेक्षाकृत हामी भन्दा धेरै कम बोल्यो । सामान्यतया यताउताको कुरा संगै हामीहरु कुन देशबाट आएका? तिमीहरुलाई युरोप कस्तो लाग्दैछ? या यहाँका मान्छे कस्ता भेट्यौ ?आदि इत्यादी कुरामा नै समाप्त भयो । हुन् त हामी चार चार जनाको ग्याङ्ग थियौ अनि ऊ एक्लो भएर पो हो कि ? त्यो दिन हामी लगभग तीन घण्टा सम्म संगै बसेर संगसंगै आ-आफ्नो गुड तिर फर्कियौ । यहि नै जोसेफ संगको पहिलो समय थियो मेरो ।
जोसेफ गोरो, अग्लो, साधारण फिगर तर नीलो आँखाको धनी थियो त्यसैले उसलाइ देख्न बित्तिकै मेरो दिमागमा उही बर्षौ अघि पढेको कथाको पात्र र धोकेबाज शब्द झल्यास आइ हाल्थ्यो । मैले साथीहरुलाई पनि भने मैले कथामा पढेको कुरा साथै जोसेफको निलो आँखाको बारेमा रहेको मेरो धारणा । उनीहरुले हाँसेरै उडाउन थाले । कथाको कुरा लिएर अब सबैलाई धोकेबाज नै सोचेर बसिरहेस् पनि भने । मैले त्यो कथा सत्य कथामा पढेको सत्य घटना थियो भनेर उनीहरुलाई भने आफ्नो कुरा राखे । उनीहरु झन् हाँस्न थाले पछी म चुप हुनु शिवाय कुनै उपाय थिएन । हामी चारै जनाको भेट यहि भएको थियो । हामी अलग अलग तरिकाबाट यहाँ आए पनि उद्धेश्य एउटै पैसा कमाउने थियो र केहि महिना देखि यो अपार्टमेन्टमा संगै बस्न थालेका थियौ । कहिले कहिँ कामको अवस्थाले गर्दा एक्ला एक्लै पनि हुनु पर्थ्यो कोठामा | यदाकदा चारै जनाको बिदा संगै पर्दा बाहिर निस्कने गर्थ्यौ अन्यथा उहि कोठा र काम नै हुन्थ्यो हाम्रो नियमित रुटिन  । जानु आउनु पनि कहाँ यो पराई भूमीमा । समयको आफ्नै बहाव , बग्दै थियो । हामी समयका प्यादा नाचीदै थियौ उसकै इशारामा । जोसेफ संग हाम्रो मित्रता झन् झन् गहिरो हुदै गयो । ऊ शान्त तर रमाइलो मान्छे थियो । हामी संग संगै हिड्दा बोल्दा दुइ चार नेपाली शब्द पनि सिकी सकेको थियो । म तिमीलाई माया गर्छु” “तिमीलाई कस्तो छ “ ‘राम्रो “ ‘नराम्रो यस्ता यस्तै सामान्य शब्दहरु । ऊ सोद्थ्यो अनि हामीले सिकाउथ्यौ ।

अब आउने दिनमा तिमीहरु चारै जनाको बिदा कहिले छ?” एकदिन अचानक उसले सोध्यो । हाम्रो बिदाको सेरोफेरो नमिल्ने हुनाले सोधेको हुनु पर्छ उसले ।
आउने आइतबार । एकजना साथीले भनिन ।
उसो भए यो आइतबार तिमीहरु सबै जना मेरो घरमा डिनर आउने है ।उसले भन्यो । हाम्रो पनि खासै प्लान केहि थिएन । फेरी ऊ संग भेटे देखिको अवधि लगभग एक बर्षको हुन् लागी सकेको थ्यो र कयौं पटक हामी उस्को अपार्टमेन्ट गएर खान खाएका थियौ र ऊ पनि हाम्रोमा आएको थियो ।
हुन्छ नि तर केहि खास छ र जोसेफ? मैले सोधिहाले ।
खास केहि हैन तर मेरो भाइ र बहिनि पनि आउने भनेका छन् त्यसैले तिमीहरु संग भेटाउ भनेर हो । अनि थाहा छ मैले तिमीहरुको बारेमा सधै कुरा गर्छु । त्यसैले उनीहरु पनि भेटन खोज्दै छन्उसले जवाफ दियो ।
ओह्ह, ठिकै छ बरु केहि सहयोग चाहिन्छ भने भन्नु हैमैले औपचारिकता निभाए ।
हैन खासै नपर्ला, परेमा भनिहल्छु निउसले भन्यो।
आइतबार साँझ ऊ आफै आयो बोलाउन । हामी पनि तयारी गर्दै थियौ । सोध्यौं को को आको छ भनेर । बहिनी-ज्वाईं दुइ जना भाइ र दुइ जना भान्जी गरी छ जना छन् भनेर जवाफ दियो ।
अलि अलि अड लागे पनि चार चार जना छौ भनेर हिम्मत गर्दै हामी ऊ संग गयौ । जोसेफलाइ पो नजिक बाट चिनेका थियौ र साथी जस्तै भएका थियौ । उस्को परिवार कस्ता होलान् ? आखिर खैरे त हुन् । कती घमण्डी हुन्छन कोइ-कोइ त । यस्तै यस्तै विचार एक आपसमा पोख्दै हामी उस्को कोठामा छिर्यौ ।
 हाई गाइज़ एक मोटो लोग्ने मान्छे अगाडी आएर हात मिलायो सबै संग । ऊ जोसेफको भाइ रहेछ ।
जोसेफले सबैसंग परिचय गरायो । हामीपनि मुस्काउदै लाज मान्दै उनीहरु संगै बस्यौ ।
तिमीहरुको कुरा गरी रहन्छ दाइले, तिमीहरुको आपसी समन्वय र मिलनसार पनको

कस्तो लागि रहेछ तिमीहरुलाई यहाँ आएर?’ उसकी बहिनी येप्पीले कुरा शुरु गरिन् |
हो ऊ पनि मिलनसार छ त्यसैले त हामी अर्कै मुलुककालाइ पनि माया गरेर साथी सम्झन्छ अनि सहयोग गर्छ मेरी एकजना साथीले कुरा थपिन् । कुराका सिलसिला चल्दैरहे । खानपिन् पनि चल्दैरह्यो । जोसेफ खाना पकाउन पनि निकै सिपालु रहेछ र ऊ भान्छामा काम गर्न पनि मन पराउने हुनाले सबै खानपिनको ब्यबस्था आफै गरेको रहेछ । उसकी बहिनीले कुरा गर्दागर्दै दाजुको प्रशंसा गर्दै भनेकी थिइन् । उसकी बहिनीसङ्गको सामिप्यता बढ्यो त्यो दिन । मेरो फोन नम्बर मागिन् उनले । मैले बोलाउदा हाम्रो पनि आउनु पर्छ है भन्दै अग्रिम बुक गरिन हामीलाई उनको पाहुना हुनका लागी । हामी पनि उस्को फरासिलोपनले प्रभावित भैसकेका थियौ त्यसैले हुन्छभन्न पछी परेनौ  ।
   दिन आफ्नै रफ्तारमा बग्दै गयो । दिनचर्या उस्तै थियो । जोसेफ र हाम्रो मित्रता झन् झन् गहिरो हुदै थियो  । हामी उसको बहिनीको घर पनि निम्तो मान्न गयौ । निक्कै रमाइलो संग त्यो साँझ बितेको थियो । यस्तै नयाँ बर्ष २0११ को न्यु ईयर ईवउनीहरु संगै बिताएका थियौ । जोसेफ र उसकी बहिनीले धेरै आग्रह गरेर हामीलाई बोलाएका थिए । उसको परीवार संगसंगै उनीहरूकी बुढी आमालाई पनि भेटेका थियौ । धेरै मिलनसार परिवार थियो जोसेफको । त्यो न्यु ईयर ईव हामीले जोसेफको आमाको घरमा मनाएका थियौ । त्यो रात हामी त्यहि बस्यौ । । जोसेफको परिवारका सबै सदस्यहरु जम्मा भएका थिए । त्यो रात सबै जना गरी हामी लगभग ३५ जना जति  थियौं होला  । कहिले तास खेल्दै, कहिले हल्का म्युजिक लगाएर झुम्दै , कहिले उनीहरु इंगलिस गीत गाउदै र हामी नेपाली गीत गाउँदै त्यो रात निक्कै मधुर वातावारणमा रम्दै बितेको थियो ।
रोज, मलाई तिमीसंग केहि कुरा गर्न छतिमी समय दिन तयार छौ भने हामी भित्र बसेर एकछिन्  कुरा गरौ न अचानक एप्पीले मलाई सोधिन । मेरो नाम रोजिना भएकोले प्राय साथीहरु सबैले रोज नै भन्ने गर्थे ।
हुन्छ मैले सामान्य मुद्रामा उनलाई जवाफ फर्काएँ । हामी भित्र कोठामा गयौ । उनले आफ्नी आमाको सबै घर देखाउदै मलाई सम्पूर्ण घरको जानकारी गराईन् । हामी दुइ कुरा गर्दै उनकी आमाको कोठा भित्र छिर्यौ । घर निक्कै ठुलो नै थियो ।
बस ! एप्पीले कोठाको कुनामा राखेको सोफातिर देखाउदै भनिन् र आफु पनि बसिन्
रोज, मैले अब गर्न लागेका कुराहरु मार्फत  तिमीलाई सम्झाउन सक्छु या सक्दिन थाहा छैन तर तिमीले मलाई बुझ्ने प्रायश गर्नु है एप्पिले नम्र भाषामा भनिन्  । म असहज्  महसुस गर्दै थिए किनकी उनको यो अनौठो पाराले कुरो शुरुवातको केहि तात्पर्य बुझ्न सकेकी थिइन ।
मैले सक्दो प्रयाश गर्ने छु एप्पी बरु के कुरा हो भन |मैले भने । कता कता मलाई अब मनमा खुल्दुली हुन लागी सकेको थियो । म हतारिनु र डराउनु दुवै एकैपटक भएको महसुश गर्दै थिएँ |
रोज मैले मेरो दाजु जोसेफको  कुरा गर्न चाहेको तिमीसंग । उसले तिमीलाई धेरै माया गर्छ । उसले मलाई तिमीसंग कुरा राख भनेको त हैन तर तिम्रो बारेमा उसले म संग गरेको कुराको आधारमा मैले सुटुक्क तिमीलाई बुझ्न मात्र खोजेको हो । तिमीले अन्यथा पनि नलिनु है यो कुरालाई । उ साह्रै लजालु किसिमको छ सानै देखि । म तिमीसंग कुनै कुरा लुकाउदिन । जोसेफको बिहे भएको थियो र अहिले पारपाचुके हो । उसको एउटा छोरा पनि छ ११ बर्षको र उसको आमा संग बस्छ । मेरो दाइ ४० बर्षको भयो । जागीरे छ र राम्रो कमाउछ । तिमीलाई मैले यो सबै कुरा एउटा साथी जस्तै सोचेर भन्दैछु । जोसेफले तिमीलाई धेरै माया गर्छ भन्ने कुरा मैले उसको हाउभाउ बाट बुझें । उसले तिम्रो कुरा गर्न रुचाउछ । म संग तिम्रा धेरै धेरै कुरा गर्छ र भन्छ कती साधारण अनि कती स्वच्छ भावना छ रोजमा। माया त हो नि यो , हैंन र ? उसकी पत्नी लिलीधेरै महत्वकांक्षी भएर नै यिनीहरु अलग भएका हुन् । जोसेफ साधारण छ । म जोसेफलाई  माया गर्छु । उ जस्तो मान्छे धेरै कम हुन्छन । उ मेरो दाइ हो त्यसैले मैले प्रशंशा गर्दै छु भनेर नसोच्नु नि । तिमीहरुले उसलाई चिनेको पनि त दुइ बर्ष हुन् लाग्यो ।उनले मेरो हात आफ्नो हातमा लिएर लगातार बोल्दै गईन । म अवाक् भएर उनको मुहार हेरी रहे । कल्पनै नगरेको अवस्थामा थिए म । कयौं पटक जोसेफले म तिमीलाई माया गर्छु भनेको कुरा झल्झली याद आउँन थाल्यो । उसको गहिरो निलो आँखाहरु उस्तै मेरो सामु नाच्न थाल्यो । मैले त्यती बेला के सोचेकी भने उ नेपाली सिक्ने रहर गरेर बोल्दै छ यी शब्दहरु । पक्कै पनि जोसेफमा कुनै कमि थिएन । हामीले लगभग दुई बर्ष देखि उसको संगत गरेका थियौ । कुनै दिन उसको ब्यबहारमा नमिठोपन देखिएन । कहिल्यै कुनै नराम्रो संगतमा भेट्टिएन  ।  यसरी उनकी बहिनीले कुरा राख्दा मलाई पूर्वी सभ्यताको आभास दिलाएको थियो । साँच्चै यो पश्चिमको माहौल भए पनि उसको परीवारमा मैले पूर्वेली सुगन्ध पाएकी थिए ।
सरी रोज, मैले तिम्रो मन दुखाएं कि?” मलाई सोचमग्न र मौन देखेर एप्पीले मलाई झस्काइन्
हैन एप्पी, मैले यस बारेमा कल्पनै नगरेको भएर अल्मलिएको मात्र । एप्पी म दक्षिणपूर्वको एउटा गरीब देश अनि गरीब परिवारमा जन्मेकी छोरी हुँ । म संग मेरो परिवारका धेरै सपनाहरु जोडिएका छन् । मैले यी सबै कुराहरुमा ध्यान सम्म दिन पाएकी छैन । मैले यस्तो सोच र नज़रले जोसेफलाइ हेरेकै छैन । म यसबारे केहि भन्न सक्दिन अहिले । मलाई माफ गर म अलि सामान्य हुदै भने तर मेरो बोलीमा पक्कै पनि खरोपन् थियो या जोसेफ प्रती कुनै चाह नरहेको अभिब्यक्ती मेरो रुखोपनमा घोलिएको थियो ।
अरे! यसमा माफी माग्ने के कुरा भो ? मैले तिमीलाई बुझ्छु रोज । मैले तिम्रो सामु दाइको कुरा मात्र राखेकी हुँ । चाहेको सबै कहाँ पुग्छ र ? मैले दाईलाई पनि केहि भन्न सक्दिन तर हल्का रूपमा उसलाई तिम्रो विचार प्रष्ट पार्ने छु । तिम्रो विचार बुझे पछी उ त्यत्ती एकोहोरो पनि नहोला । तर तिम्रो मेरो बीच भएको कुरा उसलाई अहिले भन्दिन फेरी उसको के इच्छा छ हामीलाई थाहा पनि त छैन । मैले त तिमी प्रति उसको लगाव महसुस गरेर तिमीसंग कुरा राखेकी मात्र हुँ  । तिमी ढुक्क हुनु है कती सुल्झिएको विचार पोखेकी थिइन् उनले त्यस बेला । भोलिपल्ट साँझ हामी फर्कने बेलामा जोसेफकी आमाले फेरी पनि आउनु है भनेकी थिइन् ।

जोसेफको परिवारसंग भेटेर आए पछी म अलि कम बोल्न थालेकी थिए उ संग । किन किन मनभित्र उकुस मुकुस हुन् थालेको थियो । म अलि चुपचाप भएको साथीहरुले महसुस गरेछन ।
हैन, किन आजभोली त कम बोल्न थालेकी छस भनेर उषाले सोधिन् एकदिन ।
मैले जवाफ दिनै सकिन । मेरा सोचहरु उही नीलो आँखामा डुबी रहन थालेका थि। मैले जोसेफलाइ कहिल्यै प्रेमिल नज़रले  हेरेकै थिइन् । एप्पीले पक्कै पनि भनिन् होला मेरो कुरा जोसेफलाइ भन्ने कुरा मन मस्तिष्कमा सल्बलाउथ्यो । तर उसको ब्यबहारमा कुनै फरक देखिन्नथ्यो । उस्तै हँसिलो रसिलो अनि उस्तै साधारण ।
दिन रात अनि निरन्तर समयको बेग संगै केहि महिना बित्यो । यहाँ आएको तीन बर्षमा उषाले अचानक नेपाल जाने निर्णय गरीन् र नेपाल फर्किंईन । हामी अब कोठामा तीन जना मात्र थियौ र हाम्रो उस्तै दिनचर्या थियो ।
रोज , आज बिहान आमाको मृत्यु भयो एक दिन दिउँसोतिर अचानक एप्पीको फोन आयो । दु:ख प्रशस्त थियो उनको रुझेको आवजमा । भोलि साँझ पाँच बजे अन्तिम बिदाईको समय तोकिएको छ । मिल्यो भने आउँ है उनले आग्रह गरिन । मैले सान्त्वनाका केहि शब्द संगै म बिदा मिल्यो भने आउंने छु भने । रश्मि र अनुलाई पनि भने जोसेफको आमाको बारेमा साथै एप्पीको कुरा पनि । भोलि काममा गएर मिलाउन सकियो भने निस्केर संगै भेट्न जाने सल्लाह भयो हाम्रो । अर्को दिन हामी त्यहाँ पुग्दा सात बजेको थियो । त्यसै बखत मैले जोसेफकि पत्नी लिली लाई भेटेकी थिए । एप्पिले नै परिचय गराएकी थिइन् र उनलाई चिन्ने मौका पाएकी थिए । निक्कै सुन्दर थिइन् उनी
समय लम्किदै फेरी केहि महिना अगाडी पुग्यो । हामी जहीं त्यहि थियौ तर अनु दुइ महिना पछी अमेरिका जाने भईन । हामी फेरी घट्दै थियौ । उनी जानुमा कहिँ खुशी र कहिँ छुट्टिनुको पिडा मिश्रीत थियो हामी दुइ म र रश्मीमा । अनु जानु भन्दा अगाडी हामीले सानो ग्यादरिंग राख्यौ बिदाईको । केहि नेपाली साथीहरु अनि र जोसेफ अनि उस्को बहिनी र ज्वाईं पनि बोलाईएका थिए । लगभग १२ बजे सम्म रमाइलो गरेर बस्यौ हामी । मध्य रात पछि साथीहरु पातलिंदै गए । एप्पीले पनि बिदा लिईन् । अब हामी तीन र जोसेफ थियौ । सामान्य गफगाफ चल्दै थियो | रश्मीले अनुको अमेरिकामा भएको साथीको कुरा सुरु गरिन् जो संग निकट भविष्यमा अनु बिहे गर्दै थिइन् । त्यस पछी प्रेम,प्रेमी प्रेमिकाको कुरा हुन् थाल्यो ।
म पनि तिम्रो साथीलाई माया गर्छु कुरा गर्दा गर्दै अचानक जोसेफले रश्मिलाई हेर्दै भन्यो । उसको आँखाको इशारा म तिर नै थियो ।
को भन्ने मलाई थाहा छ अनु लगभग चिच्याउदै भन्दै थिई ।
रोजिना भन्न किन डराएको होला श्मीको उस्तै झटारिलो बोली ।
हाहाहागर्दै अनु र रश्मीको संयुक्त हाँसो ।
हो गाईज, “रोज तर रोज मलाई माया गर्दिन भन्ने मलाई थाहा छ अच्चमको कसिलो बोलीमा जोसेफले स्वीकार गर्यो । उसको गहिरो नज़र त्यस समय मै माथि थियो ।
जोसेफ तिम्रो आँखाहरु नीला छन् र म नीलो आँखा हुने मान्छेलाई विश्वास गर्न सक्दिन । प्रेम त हुदै हुँदैन । उनीहरु धोकेबाज हुन्छन भन्ने सुनेको छु मैले कुरा सामान्य नै रहोस भन्ने हिसाबले जोसेफलाइ जबर्दस्ती जिस्काएकै झैं गरी भने ।
कसले भन्यो? के तिमीलाई त्यो विश्वास लाग्छ ? म तिमीलाई केहि भन्दिन तर एक पटक मेरो आँखामा हेरेर भन त म धोकेबाज छु या हुन् सक्छु ? “मेरो एकदम नजिक दुवै आँखाले मेरो आँखामा हेर्दै भन्यो । म चुपचाप उसको आँखामा हेर्न थाले । उफ्फ्फ़ ! ती गहिरा नीला आँखा समुन्द्र भन्दा कम थिएनन् । त्यहाँ झुठ, फरेब ,धोका, मक्करी के होस् ,स्वच्छ निश्छल ती आँखाभित्र अथाह माया बाहेक केहि केहि थिएन । म त्यहाँ डुब्दै गरेको महसुस हुन थाल्यो आफैलाई । यसरी कसैको आँखा पनि पढ्न सकिदो रहेछ । मलाइ छटपटी भयो र मैले आफ्नो नज़र उसको आँखा बाट हटाए ।
मलाई प्रेममा विश्वास छैनयती बाहेक बोल्न केहि सकिन । बर्षौ बिते,हामी चार मध्ये दुई यहि परदेश सिच्दै छौ तर संगै छैनौ । रश्मिले यहि बिहे गरिन र अर्को शहरमा छन् । प्राय बिदा या चाड पर्व पर्दा भेट हुन्छ । अन्यथा फोनको र इमेलको माध्यम बाट जोडिएकै छौ । संसार धेरै सानो बनाई दिएको छ आजको संचार प्रगतीले । म एक्लो भए पछी फेरी नयाँ बथान खोज्नु नै पर्ने भयो साथीहरुको त्यसैले जोसेफको बस्ती देखि ४ घन्टाको दुरीमा आफ्नो गुड लगाएको पनि चार बर्ष हुन् थाल्यो । उस्तै छ ,मलाई माया गर्छु भन्ने मान्छे यी दिनहरुमा एक फोन पनि गर्दैन तर उसकी बहिनीले सम्पर्क गर्न छाडेकी छैनन् । कुनै पनि चाड होस् या बिहे या सामान्य ग्यादरिंग निम्तो गर्न भुल्दिनन्  । म पनि एप्पिसंग नै दोहोरो सम्पर्क राखेर खुशी छु ।
तिमी त मलाई खुब माया गर्छु भन्ने मान्छे,यति बर्षमा एक पटक फोन गर्न पनि सकेनौ गएको बर्ष उनीहरुकै एक बिहेमा सरिक हुँदा जोसेफ संग मैले सामान्य मैत्रीय गुनासो जस्तै गरे ।
तिमीले पनि त गर्न सक्थ्यौ, गर्यौ ? म अझै पनि माया गर्छु तर तिमी गर्दिनौ । तिम्रो बारेमा जानकारी पाएकै हुन्छु । तिमी कहाँ छौ ? के गर्दै छौ ? कहिले मलाई भेट्न आउदै छौ ययावत सबै कुरा मुसुक्क हाँसेको थियो । जीवन अनि यो प्रेम कस्तो अनौठो लाग्छ आज मलाई । मलाई चाहनेलाई मैले प्रेम गर्न नसक्नु , मेरो चाहत ,मेरो प्रेमले मलाई बुझ्न नसक्नु अर्थात् मैले जसलाई चाहे उसलाई पाउँन नसक्नु र मलाई निस्वार्थ चाहनेलाई मैले बुझ्न/माया गर्न नसक्नु को पिडा मलाई भन्दा अरुलाई थाहा कसरि हुन् सक्छ, कस्तो यो बिडम्बना जिन्दगीको । यी उतार चढावहरुलाई मैले अती नै गहिरिएर अध्ययन गरेकै हुँ । समयले मलाई गतिलो बिषय बस्तु दिएकै हो । हामी समयका प्यादाहरु उसैको चाल अनि अनि बहावमा छौ ।




No comments:

Post a Comment